नेकपा अध्यक्षद्वयबीच ध्रुबिकरण बढ्यो, वार्ता र संवाद पनि ओझेलमा ! स्थायी कमिटी बैठक कहिले बस्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १२, सोमबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

्रसाउन १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचको आन्तरिक विवाद चुलिएपछि वार्ता र संवाद पनि ओझेलमा परेको छ । पछिल्लो पटक साउन ६ गते बैठक बसेर १३ गतेका लागि सारिएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षले वार्ता र संवाद गरी सहमतिको प्रयास गर्ने भनिएको थियो । सात दिनका लागि सारिएको स्थायी कमिटी बैठकमा अहिलेसम्म एक पटक मात्र दुई अध्यक्षबीच वार्ता भएको छ ।

साउन ९ गते शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा करिब एक घण्टा वार्ता भए पनि ठोस सहमति भएन । त्यसपछि दुई अध्यक्षबीच वार्ताको वातावरण बन्न सकेको छैन । उल्टै अध्यक्षबीचको तिक्तता झन बढ्दैगएको अनुमान पार्टीका नेताहरूले लगाउँदै आएका छन् ।

त्यसपछि दुई अध्यक्षबीच वार्ता र संवादको वातावरण नै बिग्रेको केही नेताहरूको बुझाइ छ । पार्टीका एक स्थायी कमिटी सदस्यले भने, “दुई अध्यक्षबीच सहमति होला भनेर एक साताको समय दिइएको हो, आफैँमा आरोप प्रत्यारोप गर्न थाल्नुभयो भने कसरी समस्या समाधानको बाटो निस्केला ?” स्थायी कमिटीको बैठक १३ गते बिहान ११ बजेका लागि बोलाइएको छ । त्यसअघि दुई अध्यक्षबीच सहमति हुनेमा आफूहरू विश्वस्त रहेको ती सदस्यले बताए ।

‘पार्टीका नेताहरूले त्यस्तो विश्वास गर्नुभए पनि अध्यक्षद्वयबीच वार्ता र संवाद नभएपछि समस्या समाधान कसरी होला ?’ नेताहरू नै अन्यौलमा छन् । अध्यक्षद्वयलाई दिइएको पछिल्लो समय अनुसार पाँच दिन गुज्रिसकेको छ । पाँच दिनमा एकपटक मात्र वार्ता बस्यो । अब बाँकी दुई दिनमा पनि वार्ता हुने नहुने अन्यौल कायमै रहेको अध्यक्षद्वयको सचिवालयले जनाएको छ ।

दुई अध्यक्षबीच वार्ता हुने नहुने कुनै जानकारी नआएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले गोरखापत्र अनलाइनलाई बताए । “स्थायी कमिटी बैठक बस्ने मिति आउन दुई दिन बाँकी छ, तर पनि अध्यक्षहरूबीचको बैठक बस्ने नबस्नेबारे केही जानकारी आएको छैन” उनले भने । अर्का अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले पनि अध्यक्षद्वयबीच हुने पछिल्लो वार्ताको समय निर्धारण भइनसकेको बताए ।

अध्यक्षद्वयको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस जारी नै छ । असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठक अहिलेसम्म बैठकको प्रमुख एजेण्डामा प्रवेश नै पाएको छैन । दुई वर्षे अवधिको सरकारले गरेको कामको मूल्याङ्कन, मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसि, पार्टी एकता प्रक्रिया टुङ्गो लगायने यावत विषय बैठकका एजेण्डा तय गरिएका थिए । पैँतालिस सदस्यीय स्थायी कमिटी बैठकमा त्यसको आधा सङ्ख्यामा मात्र सदस्यहरूले अहिलेसम्म आफ्नो धारणा राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस