असोज १५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले सरकारलाई दिनरात गाली गर्ने सञ्चार माध्यमको सहने शक्ति नभएको भन्दै मिडियासँग गुनासो गरेका छन् । बुधबार साँझ केही दिन अघि गठन भएको मिडिया एलाइन्सका पदाधिकारीसँगको औपचारिक भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् । भेटघाटमा लामो मन्तव्य दिएका ओलीले सञ्चार क्षेत्र अरुलाई जे भने पनि छुट पाउने तर अलिकति चिसिक्क हुँदा खपिनसक्नु नहुने प्रवृत्तिले ग्रस्त भएको गुनासो गरेका हुन् । ‘सरकारलाई गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सञ्चार माध्यमलाई अलिकति चिकिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि , यसो छोयो भने करेन्ट लागेजस्तो बुरुक्क उफ्रिहाल्ने ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७७ कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रशारण सेवा क्लिनफिड लागू हुने जानकारीसमेत दिएका छन् । ओलीले सूचनाको हकसम्बन्धी कानुन अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न सबैलाई आह्वान गरेका छन् । मिडिया मालिकसँगको भेटमा ओलीले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताए ।