विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिदैन : शेरबहादुर देउवा

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिदैन : शेरबहादुर देउवा

असार ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ब्रिटिस गोर्खा सैनिकले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भएको उनले उल्लेख गरे । तर, अर्को देशको नागरिकता लिइसकेपछि नेपालको दिन नसकिने उनले स्पष्ट पारे ।

उनले अरू कामका निम्ति एनआरएनएलाई दिएसरहको नागरिकता दिन सकिने बताए । नेपालजस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनको भनाइ थियो ।

नेपाल फर्कन चाहनेलाई स्वागत गर्न तयार रहेको उनले बताए । “…अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ,” उनले भने, “नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।”

ब्रिटिस गोर्खा सैनिकबारे संसदीय समितिमा छलफल जारी रहेकाले संसद्बाट निष्कर्ष निस्कने उनले सुनाए । “जहाँसम्म गोर्खा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ, त्यसमा म स्पष्ट छु,” उनले भने, “ब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ ।”

सभापति देउवाले गोर्खा सैनिकको इतिहास गर्बिलो रहेको बताए । ब्रिटिस गोरखा सैनिक नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।

नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्त्वपूर्ण रहेको उनले टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस