असार ७, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड भोलिदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । भोलिदेखि मङ्गलवार बिहानसम्म रातिको १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिए ।
निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदम घाटमा रोकिने छ ।
सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।