असार ९, काठमाण्डौ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ ।
सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो ।
त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् । यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो सोही अनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन् ।