देउवालाई भेटेर शेखरको चेतावनी : तपाईं नसच्चिए अब सहकार्य हुँदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठक अघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुगेका थिए । बुधबार बिहान ११ बजे देउवा र कोइरालाबीच करिब पौने घण्टा कुराकानी भएको थियो ।

छलफलमा उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार समेत सहभागी थिए । त्यस क्रममा नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापति देउवाले निरन्तर एकलौटी रुपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्ने कुरा रोकिएन । न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग छलफल र संवाद गर्नुहुन्छ,’ भेटमा नेता कोइरालाले देउवालाई भनेको उद्धृत गर्दै एक नेताले सुनाए ‘तपाईको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सकेको छैन । अर्कोतिर राष्ट्रिय राजनीतिमा पनि तपाईंका निर्णयले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’

नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गरेका थिए । त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताएका थिए । ‘कोशी प्रदेशमा सरकार गठनको विषयले कांग्रेसको बद्नाममात्रै भयो । तपाईको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भनेका थिए ।

नेता कोइरालाले सभापति देउवाले भ्रातृ संस्थाहरूको गठन र विस्तारमा समेत परामर्श नगरिएको भन्दै आक्रोस् पोखेका छन् । ‘तपाईंले गलत गर्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ । तर तपाईं रोकिनु भएको छैन । यदि तपाईं नसच्चिने हो भने भन्नुस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस् । मलाई तपाईंसँग सहकार्य गर्नुछैन,’ कोइरालाले भनेको उद्धृत गर्दै ती नेताले भने ।
जवाफमा सभापति देउवाले मिलाएर गर्ने भनेका थिए । ‘तपाईं त्यसरी रिसाउनु भएन । मिलाएर गर्ने हो । म गरिहाल्छु । ठीक हुन्छ,’ देउवाले भनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस