चैत्र ११, काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच दुई पक्षीय हितका विषयमा काठमाडौँमा भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।
बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए ।
दुध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बंगलादेश नेपालको सम्भाव्य बजारका रुपमा रहेकाले उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहल कदमीका लागि मन्त्री भण्डारीले आग्रह गरे ।