भाद्र ३१, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विवाद चर्किएको छ ।
अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशका निलम्बित सांसद अभिरामकुमार शर्मालाई प्रदेश संसदीय दलको नेतामा निरन्तरता दिन खोजेपछि विवाद चर्केको हो ।
शर्मा निलम्बनमा परेपछि रिक्त रहेको संसदीय दलको नेतामा पूर्वप्रदेशमन्त्री जितेन्द्र सोनल चयन भएपछि लोसपामा भाँडभैलो मच्चिएको हो ।
सशस्त्र प्रहरी सई हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट दोषी ठहर भएर शर्मा निलम्बनमा परेपछि मधेशमा लोसपा संसदीय दलको नेताविहीन थियो । करिब १० महिनादेखि रिक्त रहेको दलको नेतामा पार्टीको मधेश प्रदेश अध्यक्षसमेत रहेका सोनल चयन भएपछि ठाकुर असन्तुष्ट बनेका थिए ।
ज्येष्ठ प्रदेश सांसद जयनुल राईनको अध्यक्षतामा शुक्रबार बसेको बहुमत सांसदको बैठकले सोनललाई दलको नेतामा चयन गरेको थियो ।
साथै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए सोनललाई पार्टीबाट निष्कासन गर्ने चेतावनी ठाकुरले दिएका छन् । लोसपाका ८ मध्ये ५ प्रदेश सांसदको बैठकले सोनललाई दलको नेता चयन गरेको थियो । ज्येष्ठ सांसद राईनको अध्यक्षतामा बसेको बैठकमा सोनलसहित रमेश पटेल, रामबाबु यादव र रमिता प्रधान उपस्थित थिए ।