असोज १, काठमाण्डौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनसँगै नागरिकको अवस्थामा पनि परिवर्तन आएको बताएका छन् । आज (मंगलबार) धनगढी उपमहानगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भाष्य बनाउन खोजिएको भए पनि त्यो गलत भएको बताए । ‘त्यस्तो होइन, २०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न, परिवर्तन त भएका छन् नि’, उनले भने ।
सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको उनले बताए । ‘हामी आफैले परिवर्तन महसुस गरेका छौं भने त्यो अवस्थामा परिवर्तन भएको हो’, उनले भने । सिंहले सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको बताए ।