असोज ३,काठमाडौँ । स्नातक नगरेका रामकृष्ण भट्टराईबाहेक अन्य १६ जना प्रस्तावित राजदूतको नाम सुनुवाइ समितिले बिहीबार अनुमोदन गरेको छ।
सुनुवाइ समितिले बिहीबार निर्णय सुनाउँदा सभापति ईश्वरी न्यौपाने १६ प्रस्तावित राजदूतहरुको नाम बहुमतले अनुमोदन भएको जानकारी दिएकी थिइन्। यद्यपि दक्षिण अफ्रिकाका कपिल श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमिल्सिना र भारतका डा। शंकरप्रसाद शर्मा भने सर्वसम्मत हुन सकेनन्। यीबाहेक अन्य १२ नामहरुमा भने संसदीय समितिले सर्वसम्मत रुपमा निर्णय गरेको हो।
समितिले प्रस्तावित १७ जना राजदूतको सुनुवाइ भदौ २७ गते सकेको थियो। त्यसपछि अनुमोदनबारे निर्णय लिन भदौ ३० गते बैठक बोलाइए पनि कांग्रेस एमालेको मतभेदका कारण बस्दै नबसी स्थगित भएको थियो।
समितिमा उजुरीसमेत परेका भारतका शर्मा, दक्षिण अफ्रिकाका श्रेष्ठ, इजरायलका पण्डित र मलेसियाका तिमिल्सिनालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा समितिका सदस्यहरुबीच मतभेद भएको थियो।
बिहीबार राजदूतहरुको नाम अनुमोदन गर्दा श्रेष्ठ, पण्डित तिमिल्सिनाको नाममा जसपाका सांसद् प्रकाश अधिकारी र रास्वपाका सांसद डोरप्रसाद अर्यालले फरक मत राखेका थिए। त्यस्तै, डा. शर्माको नाममा सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए।
सुनुवाइ समितिले चीनका लागि डा.कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि शर्मा, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम अनुमोदन गरेको छ।
त्यस्तै, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन गरेको छ। त्यस्तै, मलेसियामा तिमिल्सिना र इजरायलमा पण्डितलाई अनुमोदन गरेको हो।
स्नातक तहको सर्टिफिकेट नभएका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको बारेमा भने फेरि अर्को बैठकमा छलफल गरेका छन् ।
प्रस्तावित राजदूतलाई अनुमोदन गर्ने बारेमा छलफल हुँदा प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।