चैत्र ९, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले विज्ञप्ति जारी गरी महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् ।
महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइरसको सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउनुपर्ने बताए । सङ्क्रमण देखिनुअघि नै सजगता अपनाउदा धेरै हदसम्म कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण हुने उनको भनाइ छ । उनले अहिले कोरोनाबाट सबै जना बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा र सेतो मछिन्द्रनाथको रथयात्रालगायतका जात्रा र पर्व नमनाउन पनि आग्रह गरेका छन् ।
जात्रा तथा पर्वमा ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भिडभाडका साथ पर्व मनाउने अवस्था नरहेको उनले बताए । आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भिडभाडमा जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गरे । धार्मिक स्थलमा धेरै भिडभाड हुँदा सङ्क्रमण सर्नसक्ने भन्दै ती ठाउँमा भीडभाड नगर्न पनि उनले अपिल गरे । महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि नेपाली र नेपालभाषामा सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा र पम्प्लेटमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।