बैशाख ३१,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले लक डाउन गरेसंगै तरकारी तथा फलफूलको किनबेचमा सहज होस भनेर राखिएका् तरकारी बजार हटाइने भएको छ । कलंकी–१४ स्थित कलंकी चोकमा तरकारी बजार सुरु गरिएपनि कोरोना संक्रमितको संख्या बढ्दै गएको र जोखिम बढेको,सोचेजस्तो ब्यबस्थित नभई बजार अस्तब्यस्त भएपछि स्थानीयहरुले व्यापक गुनासो गरेका थिए ।
विभिन्न संघसंस्था ,क्लब, स्थानीय निकाय समेतको सहभागितामा छलफल गरी उक्त बजार बन्द गर्न सामुहिक अनुरोध गरेको छ । बजारमै पुगेर माइकिङ गर्दै ब्यापारी तथा ग्राहकबर्ग लाई जानकारी गराइएको थियो। सामाजिक दुरी कायम नभएपछि सिमित पसल होलसेलको रुपमा राख्न दिने निर्णय भएपनी अत्याधिक पसल र भिड बढेको, जोखिम बढ्दै गएकाले बन्द गराउनु को बिकल्प नरहेको १४ न. वडा सदस्य बिनोद थापाले अनलाईन केन्द्रलाई बताए । त्यस्तै ब्यबस्थित रुपमा राख्न अनुरोध गर्दागर्दै पनिनागरिकले त्यसतर्फ ध्यान नदिएपछि बाध्य भएर बन्द गराउनु परेको स्थानिय प्रभाकर महर्जनले बताए ।
कलंकी चोकको तरकारी बजार हटेपनी आफ्नो घर वरिपरि रहेको स्थानीय तरकारी पसल नै विकल्पको रुपमा रहेको स्थानीय रमेश रायमाझीको भनाइ थियो। बजार ब्यबस्थित हुन नसकेपछि र जोखिम बढेपछि बजार बन्द गर्न लागेका हौ साथै भित्री बाटोमा रहेको तरकारी तथा खाध्यान्न पसल पनि सामाजिक दुरि कायम राखेर ब्यबस्थित रुपमा बिहान १० बजेसम्म मात्र खोल्न दिइने श्री क्षेत्रपाल भैरवनाथ सेवा समाजका अध्यक्ष कृष्ण खत्रीले बताए । स्थानीयहरुको छलफलले लक डाउनलाई पालना गर्न र सतर्क रहन सबैमा अनुरोध समेत गरेको छ ।