जेठ २६, काठमाण्डौ । सरकारले पनि जोखिम बहन गर्ने भएपछि कोभिड–१९ को जोखिम सुरक्षणका लागि ल्याइएको कोरोना बिमा पुन सुरु भएको छ । कम्पनीहरूको पुँजीभन्दा दायित्व बढी भएकाले जोखिम बढेको भन्दै केही समयका लागि कोरोना बिमा स्थगन गर्न बिमा समितिले निर्देशन दिएको थियो । बिमा समिति, बिमा कम्पनी, सरकार र पुनर्बिमा कम्पनी सबैले जोखिम बाँड्ने सहमति भएपछि पुन बिमालेख बिक्री सुरु गर्न समितिले निर्देशन दिएको छ । यसमा नेपाल बिमित हित संरक्षण संघले पनि स्वीकारोेक्ति जनाएको छ ।