असार २१, काठमाण्डौ । पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ । बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको हो । लकडाउनको सुरूवातमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँ थियो। अहिले ३ सय ९० देखि ४ सय रूपैयाँसम्म पुगेको छ । बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्की बताउँछन् ।
‘लकडाउन खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत बढेको छ । उनकाअनुसार दुईसाता अघि कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ६० थियो। बीचमा प्रतिकेजी ८० पुग्यो भने, शुक्रबारदेखि ३ सय ९० रूपैयाँ पुगेको छ । किसानले चल्ला हाल्न नसक्दा कुखुराको अभाव भई मूल्य बढेको उनी बताउँछन् । अहिले ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० पाएको काभ्रेस्थलीको कुखुरा पालक किसान राजन अधिकारीले बताए । उनकाअनुसार यो मूल्य अहिलेसम्मकै अधिक मूल्य हो ।
कुखुराको मासूको मात्रै होइन अण्डाका मूल्य पनि ह्वात्तै बढेको छ । १ महिनाप्रति क्यारेट ३ सय २० उपभोक्ता मूल्य रहेको अण्डा अहिले १ सय बढेर ४ सय २० पुगेको छ । लकडाउनका कारण किसानले कुखुरा नपाले पछि अण्डाको मूल्य बढको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । उनकाअनुसार किसानले प्रतिगोटा ११ रूपैयाँ ५३ पैसा पाएका छन् ।