बुद्ध जयन्ती

भारतीय राजदूतावासद्वारा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ८१ पटक पढिएको
भारतीय राजदूतावासद्वारा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम सम्पन्न

जेठ १०, काठमाण्डौँ । बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति २०८१ जेठ ९ गते लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गऱ्यो ।

सोही दिनको पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भयो। भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरुले उक्त गोष्ठीमा सहभागीता जनाई आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि साझा गरेका थिए । वहाँहरुले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारेका थिए ।

नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा यस विशेष कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ रहेको थियो ।

भगवान् बुद्ध र वहाँका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको थियो जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरुले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएका थिए। यी चित्रहरुमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरुलाई चित्रण गरिएको थियो।

वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो। भारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा। सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरुको मार्मिक प्रस्तुति र श्री सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस