फागुन १४,काठमाडौँ । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ ।
दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २– १ ले पराजित गरेको हो । एपीएफको भने ९ खेलको अपराजित यात्रा शनिबार नै टुंगियो ।
मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचौं टोलीसमेत बन्यो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए । २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
यसपटक उपाधि जित्दा मछिन्द्रले अपराजित यात्रा समेत कायम राख्यो । जसमा लगातार ११ खेलमा कुनै गोल समेत खाएन ।
च्याम्पियन मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएको खेलमा मनाङ मर्स्याङ्दीसंग १-१ को बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दोस्रो स्थानमा लिग अन्त्य गर्दै ५० लाख रुपैयाँ पक्का गर्यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर तेस्रो भयो । एनआरटीले २५ लाख हात पार्यो ।
मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् । तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।