चैत्र ७, काठमाडौ । आइसिसी विश्वकप लिग टू अन्तर्गत तेस्रो सिरिजको तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । यूएईले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।
यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । नेपाली ब्याटरहरु जिम्मेवार नबन्दा पराजित भएको नेपाल आजको खेलमा सम्हालिँदै खेल्ने योजनामा छ । पहिलो खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा कमजोर बनेको थियो ।
आजको खेलमा नेपाललाई जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ । युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई सात विकेटले हराउँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर छ । पाँच एकदिवसीय खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने यूएईले तीन खेलमा बाजि मारेको छ ।