फाल्गुण २७, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको इटलीमा देशभरीका नाका बन्द गरिएको छ । इटलीका सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थामा बाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक यात्रामा निस्कनुपरे अनुमति लिन आदेश दिएका छन् । उनले भाइरसको संक्रमण रोक्न सरकार लागिपरेको बताएका छन् । इटलीमा गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण थप ९७ जनाको मृत्यु भएको छ । योसँगै इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या चार सय ६३ पुगेको छ ।
संक्रमितको संख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ । इटली चीनपछि सबैभन्दा धेरै कोरोना संक्रमणबाट प्रभावित देश हो ।