चैत्र १५, काठमाण्डौ । म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ । शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारी मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । सेनाले सशस्त्र बल दिवसका अवसरमा शक्ति प्रदर्शन गरेपछि शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको हो ।
राजधानी सहर नेप्याइडमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सकिने चेतावनी दिइएको थियो । तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रिएका थिए ।
आन्दोलनमा हालसम्म हजारौं घाइते भएका छन् । ३ हजारभन्दा बढी पक्राउ परेका छन् । शुक्रबारसम्म मृत्यु हुनेको संख्या ३ सय २८ नाघेको थियो । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले मुख्य सहर यांगुन र दोस्रो ठूलो सहर मन्डलेमा अझै बढी संख्यामा प्रदर्शनकारी मारिएको हुन सक्ने जनाएको छ । उक्त संस्थाका अनुसार शव बोक्ने तथा घाइतेको उद्धार गर्ने स्वयंसेवकलाई कुटपिट गरिएको छ । एम्बुलेन्स जलाइएको छ ।