चैत १६ काठमाडौं । ह्वाइट हाउसले परम्परा तोड्दै आफ्नो वेवसाइटमा ‘बाइडेन प्रशासन’ को साटो ‘बाइडेन–ह्यारिस प्रशासन’ लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनमा उपराष्ट्रपतिको पदलाई माथिल्लो ओहदामा राख्ने मनसायसहित यस्तो गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ ।
ह्वाइट हाउसको प्रमुख ट्वीटर पेजमा पनि बाइडेन र ह्यारिस दुबैको नाम उल्लेख छ । जहाँ लेखिएको छ, ‘बाइडेन–ह्यारिस ह्वाइटहाउसमा तपाईलाई स्वागत छ ।’
अघिल्लो दुुई सरकारले यसअघि राष्ट्रपति र उपराष्ट्रपति दुुबैको नामलाई यसरी आफ्नो प्रमुख वेवसाइट वा सामाजिक सञ्जालमा राखेका थिएनन् । बाराक ओबामा प्रशासनमा जो बाइडेन उपराष्ट्रपति रहेपनि यसलाई औपचारिक रुपमा ‘ओबामा प्रशासन’ नै भनिएको थियो । त्यस्तै, डोनाल्ड ट्रम्प राष्ट्रपति छँदा पनि ‘ट्रम्प प्रशासन’ भनिएको थियो, तत्कालीन उपराष्ट्रपति माइक पेन्सको नाम जोडिएको थिएन ।
बाइडेनले यसअघि उपराष्ट्रपति ह्यारिसलाई गल्तीबस् ‘राष्ट्रपति ह्यारिस’ भनेर सम्बोधन गरेका थिए । खोप लगाउने कार्यक्रमको प्रगतिका विषयमा जानकारी दिने क्रममा यसै महिनाको सुरुवातमा उनले उपराष्ट्रपतिलाई ‘राष्ट्रपति ह्यारिस’ भनेर गलत सम्बोधन गरेका थिए ।
त्यसअघि गत डिसेम्बरमा पनि कोभिड १९ खोपबारेको सम्बोधनमा उनले ह्यारिसलाई गल्तीवस् ‘राष्ट्रपति निर्वाचित’ भनेका थिए । ह्यारिस आफैंले पनि एकपटक झुक्किएर आफैंलाई नेताका रुपमा उभ्याएकी थिइन् ।