चैत २६ काठमाडौं । भारतको मध्यप्रदेशको सबै शहरमा शनिबार–आइतबार दुई दिन लकडाउन घोषणा गरिएको छ ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले बिहिबार नै यसबारे घोषणा गरेका हुन् । चौहानले यो लकडाउन शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म अर्थात् ६० घण्टाको हुने जानकारी दिए । सरकारको यो निर्णय मध्यप्रदेशको सबै साना–ठूला शहरमा लागू हुनेछ । हालसम्म यहाँका १३ शहरमा एकदिनको आइतबार लकडाउन लागू थियो ।
एकदिन अघि मात्रै मध्यप्रदेशको सबै शहरमा नाइट कर्फ्यूको घोषणा गरिएको थियो । तर बुधबार २४ घण्टामा रेकर्डस्तर ४३२४ कोरोना बिरामी भेटिएपछि सरकारले शनिबार–आइतबार लकडाउनको घोषणा गरेको हो । यसबारे घोषणा गर्दै मुख्यमन्त्रीले उनको उद्देश्य कहिल्यै पनि लकडाउनको नभएको बताएका छन् ।