जेठ १६, काठमाडौँ । गणतन्त्र दिवसको अबसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अबसरमा पत्रकार नारायण ढुंगानालाई रु २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पत्रकार ढुंगाना राष्ट्रिय समाचार समिति राससमा कार्यरत छन् ।
ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरु मध्येबाट उनलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीको कार्यकारी समितिका संयोजक लालकाजी लामाले जानकारी दिए ।
चितवन निवासी पत्रकार ढुंगाना विगत २० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी कलाका साथै सुरक्षा, सामाजिक तथा परोपकारी पत्रकारितामा रुची राख्छन् । यस पटकको कलालेखन पुरस्कार भने नरेन्द्रप्रसाद पौडेलले प्राप्त गरेका छन् ।
यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवर्द्धन सम्मान संगीता थापालाई प्रदान गरिएको थियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिएको थियो ।