असार १६,काठमाडौँ । आज संसद् दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा जोगाइ राख्न आग्रह गरेका छन् ।
आज लोकतन्त्र, संविधानवाद, नागरिकको अधिकार तथा नागरिकप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ ।
संसद नागरिकको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उनले लोकतन्त्रको मूल आत्मा नागरिकको सहभागितामा निहित भएको बताएका छन् ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।