असार १५, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई फराकिलो रनले हराएको छ । आईतबार नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले हराएको हो । जितसँगै नेपाल एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले दिएको ४ सय २१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर तीन बलमा ५० रनमै अलआउट भयो । इन्डोनेसियाका कभिन नीरज चड्डाले १५ र र दिभित नन्दाले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए । संगम बुढाथोकी र शुभम खनालको नाममा एक एक विकेट रह्यो ।
यसअघि क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनायो । नेपालका लागि प्रशिद्द जैशीले बिस्फोटक ब्याटिङ गर्दै १३२ रनको शतकिय पारी खेले ।
अन्य तीन खेलाडीले पनि बिस्फोटक ब्याटिङ गर्दै अर्धशत प्रहार गरे । रौनक श्रीवास्तवले ८८ , विकेट किपर परिमार्जन यादवले ७१ तथा जोय थापाले ५७ रनको योगदान गरे । सुगम बुढाथोकीले ३९ रन बनाए ।
यो नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीले ५० ओभरको खेलमा बनाएको सबैभन्दा धेरै रन हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि भूटानसँग खेल्नेछ ।