११ महिनामा ३८ अर्व ९४ करोडको धान चामल आयात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १५, आईतबार (६ घण्टा अघि)
  • ५८ पटक पढिएको
११ महिनामा ३८ अर्व ९४ करोडको धान चामल आयात

असार १५, काठमाडौं । नेपाल खाद्यान्नमा आत्मर्निभर नहुँदा विदेशबाट धान चामल आयात गरेर नेपालको माग धान्नुपर्ने अवस्था छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार मुलुकको लागि आवश्यक पर्ने करिब ७९ लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग छ ।

फलस्वरुप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिब धान, धानको बीउ, चामल र कनिका गरी कुल ७ लाख ५३ हजार मेट्रिक टन धान जन्य वस्तु आयात भएको छ । यी वस्तु आयातमा करिब ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ ।

मन्त्रालयकाअनुसार विशेषगरि चालममा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन हुने मसिना तथा वासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धानरचामलको आयात अपेक्षाकृत कम हुन सकेको छैन ।

कुनै समय धान र चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भर बन्दै गएको छ । नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गरेको थियो । खासगरी दक्षिण कोरियामा समेत नेपालको चामल तथा धान निर्यात हुन्थ्यो ।

अहिले धान चामलमा देखिएको परनिर्भरता हटाउन सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । तैपनी परनिर्भरता हटाउने भन्दै नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाइ आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने विषय उल्लेख छ ।

आगामी वर्षहरूमा धानको उत्पादन र उत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरी चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व वृद्धिका कार्यक्रमहरू तीनै तहका सरकारमार्फत सञ्चालनको व्यवस्था गर्ने लक्ष्य छ । मलखाद, गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नविनतम प्रविधिहरू किसान माझ पुर्‍याउन कार्यक्रमहरू केन्द्रित कृषि मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ ।

परनिर्भरता नहटेपनि पछिल्लो समय धान उत्पादन भने केही बढेको सरकारी तथ्यले देखाउँछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाअनुसार चालु आवमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । यो उत्पादन गत वर्षको तुलना ४.४ प्रतिशतले बढी हो ।

मन्त्रालयकाअनुसार चालु आवमा मनसुन औसत समयभन्दा अगाडी सक्रिय हुन पुगेको र सो अबधिमा औषत वर्षा गत वर्षभन्दा उच्च रहन जाँदा वर्षे धान बालीको लागि सहयोगी बन्न पुगेको छ । यसै गरी रासायनिक मल र उन्नत जातको धानको आयात गत बर्षको सोही अबधिको तुलनामा बृद्वि हुनु पनि धान उत्पादनका लागी प्रभाबकारी रहन गएको छ ।

धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढ्ने अनुमान गरिएको छ । वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान गरिएको छ । जुन गत आवको तुलनामा १.२८ प्रतिशतले कमि हो ।

औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । यो हालसम्मको उच्च बिन्दु हो । सोही अवधिमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा वृद्धि हुन गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस