जेठ १८, काठमाण्डौँ । जसपाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनमा अन्योलता देखिएको छ।
एक सांसदमात्रै रहेको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै स्वाथ्यमन्त्री रहेकी जसपा सांसद निर्मला लिम्बूले राजीनामा दिएपछि एमाले नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ भने तत्काल नयाँ सरकार गठन हुने अवस्थासमेत देखिएको छैन।
जसपाले समर्थन फिर्ता लिएपछि सरकार बहुमतबाट एक मतले पछि परेको छ। यहाँ अहिले पनि केन्द्रको सत्ता गठबन्धनविपरीत एमाले नेतृत्वको सरकारमा माओवादी सहभागी छ। जसपा सरकारबाट बाहिरिएसँगै सरकार छाड्न माओवादीलाई समेत दबाब बढेको छ।
केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सहितको गठबन्धनभित्र भए पनि कोशी प्रदेशमा माओवादीले एमाले नेतृत्वको सरकारलाई सहयोग गरेको भन्दै कांग्रेसले विरोध गदै आएको थियो।