असार १२, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।
हेटौंडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागिएको उनले बताए । तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गरेर काम गर्न लागिएको हो ।
असार ३ गते सुक्खा पहिरो खस्दा दिउँसो ४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । साना ढुंगा खसेर गाडीमा क्षति समेत पुगेको थियो । बाटो खुलेपछि पनि लेनअनुसार गाडी चलाउन कार्यालयले अपिल गरेको छ ।