असार ११, काठमाडौं । नेकपा एमालेले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधवार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको हो ।
भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक आगामी साउन ५ गते काठमाडौँमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।