असार ११, काठमाडौं । कानुन निर्माणमा चलखेल हुने गरेको आरोप लागेको छ । सरकारकै कारण विधेयकहरु पेण्डिङमा बसेको र चलखेल समेत हुने गरेको आरोप प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लगाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित गरेका विधेयकहरुमा समेत चलखेल हुने गरेको बताए । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताए ।
देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको प्रचण्डले बताए ।
उनले भने, ‘हामिले प्रस्ताव गरेका विधेयकहरु फुल हाउसमा पुग्दासम्म त्यहा धेरै किसिमका चलखेल हुने गरेका छन् । सदनमा पुगेर पनि कार्यसूचीमा चढेर हटाइने प्रकृया छ । मैले सरकारसँग समझदारी बनाउ भन्नुको कारण संबेदनशील र महत्वपूर्ण विधेयक छिटो ऐनमा परिनत हुन भन्ने हो ।’
यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको आरोप लगाए । उनले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने पनि उल्लेख गरे ।