एमालेको सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ अषाढ ११, बुधबार (७ घण्टा अघि)
  • ४७ पटक पढिएको
एमालेको सचिवालय बैठक बस्दै

असार ११, काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिको समीक्षासहित पार्टीको विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरिसकको छ । आजको बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुनेछ ।

विधान संशोधन प्रस्ताव तयार पार्न समिति बन्नसक्ने बुझिएको छ । चितवनमा भएको दसौं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् । एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस बाक्लिएको छ ।

त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ । एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान राखिएको थियो । तर, २०८० जेठमा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलगायतलाई जिम्मेवारी दिन उमेरहद स्थगित गरिएको थियो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेताहरूले उमेरहद राख्नुपर्ने बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस