असार १२, काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्रै सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको जानकारी दिए । उनले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताए ।
‘कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ’, उनले भने ।
यसअघि असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।