असार १२, काठमाडौं । नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमन्ड क्लबले जितेको छ । हेटौँडाको हुप्रचारको कोर्टमा बुधबार भएको उपाधि भिडन्तमा न्यु डाइमन्डले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।
न्यु डायमन्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ को सेटमा पाखा लगायो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँ पाएका छन् ।
प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा हरायो । तेस्रो भएको पुलिसले एक लाख र चौथो गण्डकीले ५१ हजार रुपैयाँ पाए ।
यस्तै न्यु डाइमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर र च्याम्पियन टोलीकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए ।
उपविजेता एपिएफकी गरिमा बोहरा उत्कृष्ट ब्लकर र निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर भएका छन् । प्रतियोगितामा पुलिसकी कोपिला राना उत्कृष्ट सर्भर र गण्डकीकी रिक्जना भोटे उदयीमान खेलाडी भएको आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल स्पोर्टस् क्लब (नेकोस)को आयोजनामा भएको प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र पुलिससँगै न्यु डायमन्ड क्लब, गण्डकी, बागमती र मधेश प्रदेश गरी ६ वटा टोलीको सहभागिता थियो ।