भाद्र १०, काठमाडौं । सत्ता गठबन्धनको आग्रहमा कोशी प्रदेशका मुख्यमन्त्रीको पद जोगाउन माओवादी केन्द्रमा माधव सापकोटाले संसदको पूर्वाधार विकास समितिको सभापतिको उम्मेदवारी त्यागेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदको पूर्वाधार विकास समितिको सभापतिको सभापतिमा उम्मेवारी दर्ता गरेका छन् । सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भागबण्डा गर्दा राप्रपाले समिति सभापतिको नेतृत्वमा उम्मेदवारी दिन पाएको थिएन ।
तर अन्तिम समयमा नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको उम्मेवारी दिनबाट माओवादी पछि हटेको हो । माओवादीले राप्रपालाई उक्त समितिको सभापतिको उम्मेदवारी दिन खुला गरेसँगै राप्रपाका दीपकबहादुर सिंहले उम्मेद्वारी दर्ता गर्न लागेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
माओवादीको भागमा परेको उक्त समितिको तर्फबाट माओवादीका माधव सापकोटाले उम्मेदेवारी दर्ता गर्ने तयारी थियो । उनी अन्तिम समयमा आएर समितिको उम्मेद्वारी त्यागेर राप्रपाका दिपक सिंहलाई दिएका हुन् । सापकोटा सिंहका समर्थक समेत बसेका छन् । उम्मेदवारी दर्ताको समय आइतबार अपराह्न ४ बजेसम्म छ ।
राप्रपाले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) ले कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तापक्ष र राप्रपाका नेताहरूबीच भएको छलफलमा राप्रपा कोशी प्रदेश सरकारलाई समर्थन गर्न सहमत भएको हो ।
सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएपछि राप्रपाले प्रतिनिधिसभाअन्तर्गतको एउटा समितिको नेतृत्व पाएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति राप्रपालाई दिएका हुन् । कोशी प्रदेश सरकार गठनमा सत्ता गठबन्धनलाई सहयोग गर्ने सहमतिपछि पूर्वाधार समिति राप्रपालाई दिने सहमति भएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिएका छन् ।