भाद्र १३, काठमाण्डौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर समाजवादी मोर्चाबीच खट्पट देखिएको छ ।
विशेषगरी नेत्रविक्रम चन्द विप्लव एमसीसीको विपक्षमा भड्किएपछि समाजवादी मोर्चाभित्र तनाव देखिएको हो । मोर्चामा विप्लव नेतृत्वको नेकपासहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आवद्व छन् ।
बुधबार बिहानै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विप्लवले एमसीसीबारे असन्तुष्टि जनाएका छन् । जसले गर्दा आज धनगढीमा तय भएको मार्चाको सभासमेत विथोलिएको छ । आजबाट कार्यान्वयनमा आउने एमसीसीविरूद्व विप्लवले प्रधानमन्त्रीलाई भेटेर कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।
२ घण्टा लामो भेटघाटमा उनले संसदबाट अनुमोदन भएको १२ बुँदे व्याख्यात्मक घोषणाका सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन नगर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । तर प्रधानमन्त्रीले एमसीसी कार्यान्वयन कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।
प्रधानमन्त्रीको जवाफबाट रूष्ट भएका विप्लवले ययास्थितिमा माओवादी केन्द्रसँग सहकार्य गर्न नसकिने भन्दै आफू धनगढीमा हुने मोर्चाको कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका थिए ।