भाद्र १६, काठमाण्डौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अस्थितरता निम्त्याउन एमालेविरूद्व मोर्चाबन्दी भइरहेको बताएका छन् ।
बुटबलमा सुरू भएको एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशी विदेशी शक्तिसँग मिलेर एमालेविरूद्व मोर्चाबन्दी गरेको बताएका हुन् ।
‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ’, उनले भने ।
ज्ञवालीले कुर्सी जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तासुकै कागजमा पनि सहिछाप गरेको टिप्पणीसमेत गरेका छन् । ‘यस्ता पात्रहरु सरकारमा छन् जसले आफू सत्तामा टिक्नका लागि, आफ्नो कुर्सीको दिर्घायुका लागि जस्तासुकै कागजमा पनि सहिछाप गर्न तयार छन्,’ ज्ञवालीले भने।
प्रधानमन्त्री भारत भ्रमणमा जाँदा नेपालको राष्ट्रिय हितका कुनै पनि पक्षमा आवाज नउठाएको उनले बताए । उल्टै प्रचण्डले भारतलाई जलस्रोत हस्तान्तरण गरेको आएको ज्ञवालीले आरोप लगाए ।
उनले भने ‘हामीले देख्यौं अस्तिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुभयो। नेपालका राष्ट्रिय हितका पक्षमा कुनै आवाज उठाउन सक्नुभएन। हामीलाई भैरहवा एयरपोर्टको नयाँ रुट, हामीलाई २७ वर्षदेखि अलपत्र पञ्चेश्वरमा ब्रेक थु,’ ज्ञवालीले सम्बोधनको क्रममा भने, ‘हामीलाई चाहिएको थियो अपर कर्णालीमा ब्रेक थु। उहाँले केहीपनि गर्नुभएन। बरु उल्टै भारतीय प्राथमिकताका जलस्रोत तम शरणम: गर्दै उहाँले हस्तान्तरण गरेर आउनुभयो।’