माघ ११,काठमाडौँ । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ३३औं औद्योगिक व्यापार तथा आइटी मेलामा जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मधेस भ्रमण गर्न आग्रह गरेका छन् । जिल्ला नगरको तर्फबाट सम्बोधन गरेका शर्माले ‘घुमौं मधेश, बुझौं मधेश’ अभियानलाई सार्थकता दिन प्रदेशहरुबीच भ्रमण आदानप्रदान हुनुपर्ने बताए ।
मधेसका मुख्यमन्त्री सतिश सिंहको दुतको रुपमा आएका शर्माले आफ्नो सम्बोधनमा मधेसको पर्यटनलाई विशेष जोड दिएका शर्माले मुख्यमन्त्री पाण्डेसहित गण्डकीका नागरिकलाई मधेसको भ्रमण गर्न अपिल गरे । नाटाको मधेस प्रदेशको अध्यक्षसमेत रहेका शर्माले पोखरा र मधेसको कनेक्टीभिटीलाई पुन जोड्न आग्रह गरेका थिए । अभियानले पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा आफ्नो स्टल नै राखेको छ । अभियानका संयोजक विकास ठाकुरको नेतृत्वमा राखिएको मधेश प्रदेशको स्टलमा आगन्तुकहरूको ठूलो चासो र आकर्षण कमाएको छ। एकैदिन पाँच सयभन्दा बढी आगन्तुकले स्टलको अवलोकन गरेका छन् ।
मधेश प्रदेशका ४० पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको बुकलेट स्टलमा वितरण गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मेलाको उद्घाटन गर्दै मधेशको प्रचार सामग्री र संस्कृतिका बारेमा जानकारी प्राप्त गरे। यस क्रममा संयोजक ठाकुरले मुख्यमन्त्रीलाई विशेष बुकलेट हस्तान्तरण गरेका थिए।
मधेश प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने भिझिया नृत्य र थारु नृत्यको प्रस्तुति आगन्तुकहरूको लागि विशेष आकर्षण बनेको थियो। मुख्यमन्त्री पाण्डे मधेशको संस्कृति, प्रचार शैली, र प्रस्तुतीकरणबाट प्रभावित भएका थिए। मधेस प्रदेशबाट झण्डै ५० जनाको सहभागीता रहेको थियो ।
विशिष्ट अतिथिका रूपमा पोखरा महानगरका मेयर धनराज आचार्यले सम्बोधन गरेका थिए भने कार्यक्रमको अध्यक्षता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए। यो मेला देशभरका विभिन्न संघ र संस्थाहरूसँगको सहकार्यको प्रतीकका रूपमा प्रस्तुत भएको छ, जसले सांस्कृतिक र आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ।