वैशाख २५, काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका एकदुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ ।
राति पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।