वैशाख २७, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसमा हुने भएको छ ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो सातादेखि गर्ने क्यालेन्डर पारित गरेको हो ।
एन्फाका अनुसार पुस १ गतेदेखि लिग सुरु भएर २०८३ जेठ ३१ गते सकिने छ । यसपल्ट लिग पाँच महिना चल्नेछ ।
यस्तै पहिलोपल्ट हुन लागेको महिला फ्रेन्चाइज लिग आउँदो मङ्सिरमा हुने भएको छ । एन्फाको वार्षिक क्यालेन्डरअनुसार लिग मङ्सिर १५ गतेदेखि सञ्चालन गर्ने उल्लेख छ ।
महिला फ्रेन्चाइज लिगमा उत्कृष्ट डिभिजनका आठ क्लबले सहभागिता जनाउने एन्फाले जानकारी दिएको छ । माघ दोस्रो हप्तासम्म चल्ने फ्रेन्चाइज लिग एन्फाले नै आयोजना गर्न लागेको हो ।