बागमती मन्त्रिपरिषद् बैठक: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (१ दिन अघि)
  • १०२ पटक पढिएको
बागमती मन्त्रिपरिषद् बैठक: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

जेठ १३,काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो ।

मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार ६ सदस्यीय उक्त समितिमा तत्कालीन सरकारले ३ जनालाई नियुक्त गरेको थियो भने एक महिला अनिवार्य गरेकाले हाल २ सदस्य नियुक्त गरिएको हो । विज्ञताका आधारमा एक जना चार्टड एकाउण्टेण्टलाई नियुक्त गर्न बाँकी रहेको उनले बताए ।

प्रदेश सरकारको २०८० पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८२ को १ बमोजिम समिति गठन गरी ३ जना सदस्य नियुक्त गरिएको थियो भने फागुन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो समितिको कार्यालयका लागि आवश्यक विभिन्न तहका १४ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो ।

सो समितिले सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने काम गर्ने अधिकार रहेको छ । समितिलाई प्रदेश सहकारी ऐन २०७६ को दफा ८३ बमोजिमको काम, कर्तव्य र अधिकार रहने व्यवस्था छ । सो व्यवस्था अनुसार समितिले समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने अधिकार हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस