जेठ १३, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेका हुन् । बैठक सुरु भए लगत्तै प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका थिए ।
संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहान बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछि सूचना जारी गर्दै दिउँसो साढे २ बजे बस्ने भनिएको संसद बैठक बस्न सकेन । बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर, रास्वपा लगायत विपक्षी दलहरुले जवाफ दिनुभन्दा राजीनामा दिएर मानव तस्करीमा लागेको आरोप छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाए । रास्वपाले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरेको छ ।