जेठ १३, पोखरा । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन: निर्वाचित भएका छन् । मंगलबार संघको पाँचौ महाधिवेशनबाट थेबेको प्यानलै विजयी भएको हो ।
थेबेले उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीलाई १ सय ८८ मतले पछाडी पार्दै दोस्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत पाउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे ।
कुल १ हजार ७६४ मतदातामध्ये १ हजार ४०४ मत खसेको थियो । लामो छलफलबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर मतदानमार्फत नयाँ नेतृत्व चुनिएको हो ।
यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी पुरी प्यानलबाट कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे ।
थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन ९निजाम०, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् ।
महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए ।