चीन अटो चोङछिङ सम्मेलनमा नाडाले गर्‍यो नेपालको प्रतिनिधित्व

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ४७ पटक पढिएको
चीन अटो चोङछिङ सम्मेलनमा नाडाले गर्‍यो नेपालको प्रतिनिधित्व

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (CACS 2025) मा नेपालको प्रतिनिधित्व गरेको छ।

२०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियो।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखेका थिए।

यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए। सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनबारे समेत छलफल भएको थियो।

सो सम्मेलनमा डेलिगेशन संवादसमेत सम्पन्न भएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो।

सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टलसमेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउँदो अगष्टमा काठमाडौँमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो। यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूले समेत चासो राखेका थिए।

नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवर्द्धन गर्न थप मद्दत पुगेको छ। उक्त सम्मेलनमा नाडाकोतर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेलसमेतको सहभागिता रहेको थियो। नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस