१७ दिनपछि फाप्लु विमानस्थलमा हवाई उडान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १२, बिहिबार (१० घण्टा अघि)
  • ६० पटक पढिएको
१७ दिनपछि फाप्लु विमानस्थलमा हवाई उडान

असार १२, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार हवाई उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए ।

यस भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट शुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।

उडान बन्दले जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्त काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीले बताए । काठमाडौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस