असार १२, पर्वत । जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को गाउँपालिकाको स्थानीय गाई/गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू गरेका हुन् ।
चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिए ।
प्रतिगाई दुई हजार रुपैयाँ र प्रतिहल गोरु आठ हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको उनले बताए ।