आलमले मार्छ कि जस्तो लाग्छ, सरकारले कडा सजाय गरोस् : घाइते गौरीशंकर

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २२, आईतबार (८ घण्टा अघि)
  • ५१ पटक पढिएको
आलमले मार्छ कि जस्तो लाग्छ, सरकारले कडा सजाय गरोस् : घाइते गौरीशंकर

असार २२, काठमाडौं । गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको काकाको घरमा बम बनाउने क्रममा बम विस्फोट भई कहीको मृत्यु भयो भने केही घाइते भए ।

उक्त बम विस्फोटमा मृत्यु र घाइते भएकाहरुलाई घटना बाहिरिने डरले रौतहटको राजपुर फरहदवास्थित आलमको राजा इँटाभट्टामा हालेर जलाइयो । सो घटनाका मुख्य ओरोपी आलमलाई विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्जले जिल्ला अदालतले गरेको जन्मकैद सजाय उल्ट्याउदै सफाई दियो ।

पूर्वमन्त्रीसमेत रहेका आलमलाई उच्चले सफाइ दिएपछि सो घटनाका साक्षी सोही इँटाभट्टामा काम गर्ने भारतको बिहार सीतामढी घर भएका ४३ वर्षीय गौरीशंकर राम चमार घटनाको फेहरिस्त सुनाउन र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै आइतबार काठमाडौँ आएका छन् ।

उनले काठमाडौंस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाको विवरण सुनाएका छन् । उनका अनुसार त्यो दिन पैसा लिन आलमको घर गएका थिए । उनले बताए अनुसार आलमको घरमा बम बनाउने काम भइरहेको बेला बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो ।

घटना विवरण सुनाउन आएका उनले आलम छुटेपछि दुःख लागेको भन्दै अझै पनि आलमले आफूलाई मार्छ कि जस्तो लागेको बताए । उनले नेपाल सरकारलाई कडा सजाय गर्न माग गरेका छन् ।

गौरीशंकर राम चमारले रिपोर्टर्स क्लबमा आज गरेको घटनाको वर्णन:

‘म रौतहटको राजा इँटाभट्टामा काम गर्थेँ। हप्ता सकिने दिन थियो। पैसा लिन मलाई बोलाएर घर लिएर गयो। हामी तीनजना थियौँ। मलाई भन्यो– भाइ यता आएर तिमी आफ्नो पैसा लिएर जाऊ। घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ। घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ। फेरि म भागेँ। त्यसपछि मलाई थाहा भएन कि म कहाँ हो रु एकैचोटि मेरो आँखा खुल्यो सीतामढीमा। आँखा खुलेपछि मैले आमालाई सोधेँ– कहाँ हो योरु आमाले भन्नुभयो– यो सीतामढी हो, म तिमीलाई अस्पताल लिएर गइराखेकी छु। केही चिन्ता नगर, ठीक हुन्छ तिमीलाई।

त्यसपछि मेरो आँखा फेरि बन्द भए। मेरो इलाज (उपचार) तीन महिनाजति भयो। मलाई साढे ३ लाख आईसी (भारु) खर्च भयो। अफ्ताबले एकचोटी पनि सोधेन– मान्छे कस्तो छ, के छ रु एक रुपैयाँ पनि दिएन। सोधेको पनि छैन। आज म नेपाल सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन। त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो ।

निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्फोट भएको थियो। अफ्ताब आलमको काकाको घरमा। मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्‍याए मलाई थाहा भएन। दुईजना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ। कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन। होश भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने।

त्यहाँ बम विस्फोट भएको छ, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु। मलाई त्यसैमा बम लागेको छ। अरू मान्छेचाहिँ कति मरे मलाई थाहा भएन। इलेक्शनको एक दिन पहिला भएको छ, अफ्ताब आलमले नै बम विस्फोट गराएको त मैले भन्न सक्दिनँ तर उसैको घरमा भएको छ।

सुरुसुरुमा एसपी कार्यालय (प्रहरी चौकी)मा मैले बयान दिँदा मेरो घरमा गएको थियो। म घरमा नहुँदाखेरी त्यसको आदमी ९मान्छे० गएर मेरो आमालाई भनेको छ– तिम्रो छोरा त गयो (मर्‍यो) अब। तिम्रो छोरा दुईचार साल बितेपछि बाँच्दैन। अफ्ताब आलमको मान्छे गएर भनेको छ। मलाई धम्की दिएको छ।

अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याँकेर हामी पीडित मान्छे। त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ। मलाई मार्छ, त्यस्तो मलाई लागेको छ। अब मलाई डर भयो। मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाँच्ने, मैले केही पनि देखिनँ। (रुँदै) कसरी बाँचौँ म यो दुनियाँमा।’

ताजा अपडेट

खोजी गर्नुहोस