भाद्र ८, काठमाडौं । । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले लोकतन्त्र र गणतन्त्र बलियो बनाउन नेकपा र नेपाली कांग्रेस एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् ।
राष्ट्रियसभाको आज बसेको बैठकमा सांसद राममाझीले नेकपा र कांग्रेसबीच पानी बाराबारको स्थिति हुन नहुने भन्दै दुवैले एक अर्काको अस्तित्व स्वीकार्नु पर्ने धारणा राखे । उनले सत्तारुढ दल नेकपाका दुई नेताबीचको व्यक्तिगत आरोप–प्रत्यारोपले राजनीति गर्ने कार्यकर्ताको शीर निहुरिएको टिप्पणी गरे ।
सांसद रामप्रित पासवानले तराईमधेशका बाढी तथा डुबान पीडितलाई दिएको भनिएको राहत वास्तविक पीडितले नपाएको गुनासो गर्दै प्रदेश २ लाई बाढी डुबानग्रस्त क्षेत्र घोषणा गर्न माग गरे ।
सांसद बलराम बाँस्कोटाले पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीमाथि गरेको भनिएको दूर्व्यवहारबारे सरकारको ध्यानाकर्षण गराए ।
सांसद युटल तामाङले मुगु जिल्लामा हालै आएको बाढीले जलविद्युत्त आयोजना बगाउँदा विद्युत्त आपूर्ति बन्द भएको भन्दै तत्काल मर्मत गरेर अन्धकार हटाउन माग गरे ।
सांसद रामलखन चमारले नवलपरासीलगायत तराईमधेशका उखु मिलले किसानलाई भुक्तानी नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले किसानहरुले मल नपाएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।
यसैबीच, आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सेफगार्डस् एण्टी डम्पिङ तथा काउन्टरिङ विधेयक,२०७५’ टेबुल गरेका छन् ।
यस्तै, सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रशासकीय अदालत विधेयक –२०७६’ लाई प्रतिनिधिसभाबाट सम्बन्धित समितिको प्रतिवेदनमा उल्लेखित संशोधनसहित पारित भएको सन्देश बैठकमा जानकारी गराएका छन् ।
यस्तै, बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रहरी समायोजन विधेयक–२०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक–२०७६ लाई दपाmवार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।