माघ १२, काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको निजी क्षेत्र अतिरिक्त भ्रममा रहेको बताएका छन्।
६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न कुनै पनि कसर बाँकी नराखेको भएपनि निजी क्षेत्र आफै त्रसित भएको बताएका हुन्।
भन्सार विभागको उक्त कार्यक्रममा बोल्दै खतिवडाले पछिल्लो समय अधिकांस समय आफूले निजी क्षेत्रको गुनासो सुन्ने क्रममा भएका भन्दा नभएका समस्यामा अल्झिएका पाएको बताए।
“म पछिल्लो समय अधिकांस समय निजी क्षेत्रका कुरा सुन्ने फोरममा धेरै सक्रिय भएको छु। यो बीचमा उहाँहरुले राखेका समस्याहरु देख्दा नभएका अतिरिक्त कुरामा बढी चिन्तित भएको पाए” उनले भने।
देशको समग्र वित्तीय व्ववस्थालाई पारदर्शी बनाउन तथा असल समाज निर्माणका लागि स्थापना भएको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्न लागेको भन्दै निजी क्षेत्र त्रसित भएको प्रतिक्रिया आफूले पाएको खतिवडाको भनाइ छ।
त्यस्तै राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानबाट पनि निजी क्षेत्र उत्तिकै त्रसित भएको प्रतिक्रिया आफूले सुनेको उनले बताए।
“कमजोरी गर्नेलाई नियमको दायरामा ल्याउनु भनेको असलहरुलाई सजिलो बनाइदिने पनि हो। हामीले यसैका लागि राज्यका निकायलाई परिचालन गरेका छौ। कमजोरी नगरहेकाहरु यसबाट त्रसित हुनुपर्ने कुनै कारण छैन ।खतिवडाले भने,”यदि जसरी पनि जे गरी पनि व्यापार व्यवसया गर्न पाउनुपर्छ भन्ने हो भने हामीलाई मान्य हुँदैन। नियम तथा कानूनको परिपालनालाई त्रासका रुपमा ब्याख्या जरुरत छैन।”
राजश्व अनुसन्धान तथा सम्पत्ति सुद्धिकरणजस्ता नियकाले कमजोरी गर्नेहरुलाईमात्र कारबाही गर्ने र यसले नियमअनुसार स्वस्थ व्यापार गर्नेलाई कुनै पनि त्रासको वातावरण सिर्जना नगरेको उनको भनाइ छ।
व्यवसायीहरु करका बारेमा पनि अतिरिक्त त्रासमा भएको उनको भनाइ छ। सरकारले कानूनमा लेखिएको करयोग्य आय बाहेक कतैबाट पनि कर नउठाउने स्पष्ट पार्दापार्दै पनि पछिल्लो समय राजश्व कम उठ्दा नभएको कुरामा त्रसित भएको उनको आरोप छ।
“उहाँहरुलाई थाहा भएकै कुरा हो। आजसम्म सरकारले कतै पनि गैरकरयोग्य आयमा कर लगाएको छ ररु तिर्ने त उहाँहरुले नै हो। हामी राजश्वमा संरचनागत परिवर्तन गर्दै छौ। यस्तोमा केही समय लक्ष्यअनुसारको कर पक्कै पनि नउठ्न सक्छ तर यसको मतलब त्यो खाडल अनियमित कर उठाएर पुरिंदैन। त्यसका लागि हामीसँग अन्य औजार छन्” खतिवडाले भने।