जेठ २७, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो बस्दैछ । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । आइतबार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच एक्लाएक्लै भेटवार्ता भएपछि आजका लागि सचिवालय बैठक बोलाइएको हो । गएको शनिबार नेकपाको आकस्मिक सचिवालय बैठक बसेको थियो । आगामी आर्थिक वर्षको बजेटमा अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी समावेश गरिए पछि शनिबार आकस्मिक बैठक बसेको थियो ।
बैठकले संसदबाट निर्णय नभएसम्म एमसीसी अन्तर्गतका सवै काम रोक्ने निर्णय गरेको छ । बजेटको अनुसूची–१० मा एमसीसीबाट आगामी आर्थिक वर्ष ५ अर्ब ७४ करोड ७४ लाख आउने अनुमान गरिएको छ ।