पर्साका सिडिओ र क्याटको टोली कोरोना संक्रमितको घर घरमा पुग्ने

Post Thumbnail

-दिपु बर्णवाल                      

भाद्र १७, वीरगंज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोभिड एक्स टिम (क्याट) पर्सासंग बुधबार छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सास्थित उनकै कार्यकक्षमा भएको छलफलमा जिल्लाको अवस्था बारे क्याटले जानकारी गराएको थियो । सिडिओ तामाङले कोरोना संक्रमितको उच्चित व्यवस्थापन, कन्टेक्ट ट्रेसिङ, नारायणी अस्पतालको सेवा प्रभाव लगायतको बारे गहन छलफल गरेका हुन् ।

छलफलमा संक्रमितको घर घरमा पुगेर पारमर्श दिनुको साथै संक्रमितको अवस्था बुझ्ने निर्णय भएको छ । छलफल बैठकमा बिहिबारदेखी फेला पर्ने नयाँ संक्रमितको घर घरमा पुगेर उनीहरुको अवस्था बुझ्नुको साथै उपचार र उचित व्यवस्थापन गर्ने निर्णय भएको क्याटका सदस्य तबरेज अहमदले वताए ।

सिडिओसहितको क्याटको टोलीको संक्रमितको घर घरमा पुगेर उनीहरुको अवस्था बुझ्ने छ ।

यसका साथै बैठकमा नारायणी अस्पतालमा गरिब, विपन्न र असहायको उपचारमा लाग्ने औषधीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय पर्साले गर्ने सिडिओ तामाङले प्रतिबद्धता जनाएको तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिवसमेत रहेका अहमदले जानकारी गराए ।

क्याटका सदस्यहरुले सडकमा भेटिएका बिरामीको उपचार र औषधी व्यवस्थापनमा हुने गरेको समस्या बारे जानकारी गराएपछि प्रजिअ तामाङले ओषधी व्यवस्थापनको जिम्मा लिएका हुन् ।

यसका साथै डाक्टरले लेखेको आधारमा कुनै पनि बिरामीको पिसिआर परिक्षण गर्नु परेमा निस्शुल्क रुपमा गरिने निर्णय भएको क्याटका अर्का सदस्य श्याम पटेलले वताए । नारायणी अस्पतालका मेसुसंग छलफल गरेर त्यसको व्यवस्थापन गर्न जिम्मा प्रजिअ तामाङले लिनुभएको नेपाली कांग्रेस पर्साका सचिवसमेत रहेका पटेलले जानकारी गराए ।

यसबाट गरिब, विपन्न र असाहयको पिसिआर परिक्षणमा हुने गरेको समस्या अन्त हुने पटेलको भनाई छ ।

त्यस्तै निषेधाज्ञामा समस्यामा परेकाहरुले राहतको लागि सिधै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सिडिओ तामाङले जानकारी गराए । छलफल कै क्रममा सिडिओ तामाङले समस्या परेका एक जना बारे उनलाई थाह भएपछि उनले आफै फोन गरेर पिडितलाई राहको लागि जिल्ला प्रहरी कार्यालय पुग्न भनेका थिए ।

बैठकका भदौ १९ गतेदेखी निषेधाज्ञा खुकुलो भएपनि नियम पालनामा कडाई गरिने वताए । उनले व्यपारी तथा सर्वसाधारणले अनिवार्य रुपमा मास्क प्रयोग गरेर बाहिर निस्कनु पर्ने नत्र कारवाहीले गरिने जानकारी गराएका थिए ।

छलफलमा क्याटका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीलेसमेत सिडिओ तामाङलाई गरिब, विपन्नको निस्शुल्क रुपमा पिसिआर परिक्षणको व्यवस्था मिलाउनु निर्देशन दिएका थिए ।

छलफलमा नेकपाका प्रतिनिधि एवं क्याटका सदस्य सचिव संजिव मिश्रा, पत्रकार एवं क्याटका सदस्य शम्भु कुमार सुमन र क्याटका सदस्य शैली चौधरी र प्रशासकिय अधिकृत विनय श्रीवास्तवको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस