‘संविधानमाथि ओलीले विश्वासघात गरे’ : खनाल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १४, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्वाल पारेको बताएका छन् । संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, ‘संविधानमाथि ओलीले विश्वासघात गरेका छन् । संविधानमा प्वाल पारेका छन् । त्यै कुरालाई मानेर जाने हो भने मुलुकमा अस्थिरता हुन्छ । अस्थिरताका प्वाल टाल्नुपर्ने अवस्था छ । त्यसका लागि संसद्को पुनःस्थापना अनिवार्य मानेका छौं ।’
ओलीले तीन वर्षको कार्यकाल खेर फालेको उनले बताए । खनालले भने, ‘३ वर्ष खेर गएको छ । उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् ।’
निर्वाचनमा नेकपाको विजय भएको तर त्यसलाई प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत जीतका रूपमा व्याख्या गरेको खनालको भनाइ थियो । ‘जनताले केपी ओलीलाई भोट थिएन, नेकपाका नेतानहरूलाई दिएको भोट थियो । केपी ओलीमाथि अपार विश्वास गरेर प्रधानमन्त्री बनायौं, त्यसको दुरुपयोग गरेर संसद् विघटन गरिएको छ ।’
आधिकारिक नेकपा आफूहरू भएको भन्दै खनालले सूर्य चिन्ह र झन्डा आफूहरूको भएको बताए । उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिइएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस